Saturday, December 25, 2010

जुहारी मुक्तक- भाग- ८ सीता V बिष्णुनन्द

सीता सुबेदी'प्रकृति'
तिम्रो लागि खुशी खोज्दै कति हिंडेँ संसारमा ।
दुख सुख बाड्ने मन यो कति भिडेँ संसारमा ।
आज एक्लै पर्दा यहाँ छोडीदियौ प्रिय तिम्ले,
सालको रुख जस्तै बाधा कति गिडेँ संसारमा ।

बिष्णुनन्द चाम्लिङ्ग
आफ्नै नम्ति खुशी खोज अन्त बाँड्नु भन्दा पै'ले।
किलो काट खाल्डो खन प्रीति बाँध्नु भन्दा पै'ले ।
बच्चा खेल्ने खेल हैन यौवन झुल्ने बसन्तमा,
जाँचिहेर छाती राम्रो मुटु साट्नु भन्दा पै'ले ।

सीता सुबेदी'प्रकृति'
आफ्नो लागि खुशी मैले,खोज्दाखेरि दु:ख पाँए।
तिम्रो प्रीति मन भित्र,रोज्दाखेरि दुख पाँए ।
तिम्रो मन राख्न मैले,खुशी थप्न खोजेकी हुँ,
शुल बनि छाती मेरो,घोच्दाखेरि दुख पाँए ।

बिष्णुनन्द चाम्लिङ्ग
थोरै खुशी भित्र पनि रमाउँन जान्नु पर्छ ।
समयको लगामलाई समाउँन जान्नु पर्छ ।
मनराख्न आफ्नो खुशी सौदाबाजी गर्न हुन्न,
पग्लिएको हृदयलाई जमाउँन जान्नु पर्छ ।

सीता सुबेदी'प्रकृति'
थोरै खुशी खोतलेर,समाउने हाँगा खोजें ।
पलपल बटुलेर, रमाउने हाँगा खोजें ।
मैले मात्र आफ्नो खुशी,खोज्याहैन संसारमा ,
तिमी साथै बनाएर, जमाउने हाँगा खोजें ।

बिष्णुनन्द चाम्लिङ्ग
खुशीहरु फलाउँने बोट पनि बने कै' ले ।
मुहारमा मुस्कान छर्ने नोट पनि बने कै'ले ।
हाँसोरोजे आँशुमिल्छ फूलरोजे काँढामिल्छ,
जिन्दगीमा नदेखीने चोट पनि बने कै'ले ।

सीता सुबेदी'प्रकृति'
खुशी फल्न बोटहरु, आफैले नै रोप्नुपर्छ ।
हाँसो जोड्न चोटहरु, आफैले नै छोप्नुपर्छ ।
हाँसो आँसु जिन्दगीको, नियति नै बनिदिन्छ ,
सारा कुरा बिर्सिएर, खुशी आफै कोप्नुपर्छ ।

बिष्णुनन्द चाम्लिङ्ग ‎..
खुशी फल्ने बोट मैले तिमीलाई नै ठानेको छु ।
फुस्किएको मनको डोरी जतनगरि बानेको छु ।
आँसु हाँसो दु:ख सुख जिन्दगीको पाटा रै'छ,
दु:खमा नि हाँस्नु पर्छ भन्ने मन्त्र मानेको छु ।

जुहारी मिति : ४ पौष २०६७\ १९ डिसेम्बर २०१० \ दिनको हङ्गकङ्ग समय:-३:०० देखि ४:०० सम्म
स्थान:- फेसबूक सञ्जाल
आयोजक: मुक्तकिला मनहरु

No comments:

Post a Comment

अतिथिहरु