Saturday, December 25, 2010

जुहारी मुक्तक- भाग- ७, सीता V बिष्णुनन्द

सीता सुबेदी 'प्रकृति'
सधैँभरि मेरोकुरा लत्याएर हिँड्यौ प्यारा ।
मलाई जोखि पराइकुरा पत्याएर हिँड्यौ प्यारा ।
न त यस्तो दु:ख हुन्थ्यो मेरो कुरा बुझ्या भए,
देब्रे पाटो दुख्नेगरि अत्याएर हिँड्यौ प्यारा ।

बिष्णुनन्द चाम्लिङ्ग
सुन्दा सुन्दा तिम्रो कुरा कान दु:खेर पर गा'थेँ ।
छी:छी: दुरदुर गर्न थाले नसहेर वर आ'थेँ ।
सुकुम्बासी मुटुलाई बास खोज्दै समय बित्यो,
बाँण हान्यौ बचनैको चोट लागेर घर मा'थेँ ।

सीता सुबेदी 'प्रकृति'
साँचो कुरा गर्दाखेरि घाँडो हुन्छ जैले पनि ।
तिम्रा तीखा बोलीहरु सहेकै हुँ मैले पनि ।
राज गर्न यो मुटुमा, मागी बास कता लाग्यौ?
चित्त फाट्ने गरी मैले भन्या थिन कैले पनि ।

बिष्णुनन्द चाम्लिङ्ग
कुरा माथि कुरा मात्रै काम थपे कमाइहुन्छ ।
मीठो बोली तितो वचन अलिक चाँडो छुन्छ ।
राज गर्ने कुरा गर्छ्यौ राज्य पै'रो लागीसक्यो,
दोषारोपण गरिबसे हेर बैरी जाल बुन्छ ।

सीता सुबेदी 'प्रकृति'
संधै रातको कुरा होइन,दीप बाल्ने कुरागर ।
संधै मातको कुरा होइन,प्रीतिबाल्ने कुरागर ।
पुराहोला चाह्योभने रमाईलो मनको इच्छा,
शिशिरको तुषारोमा, शीत बाल्ने कुरा गर ।

बिष्णुनन्द चाम्लिङ्ग
सबै भन्दा मीठो लाग्ने पूर्णिमाको रात नै हो ।
जिन्दगीमा अर्को मीठो यौवनको मात नै हो ।
हुन्छ पुरा मनका कुरा मनले मीत लाग्यो भने,
पिरतीमा काँडाबनी आउँने विश्वास घात नै हो ।

सीता सुबेदी 'प्रकृति'
सम्झिएर तिनैकुरा तुनीरहें मनमनै ।
यौवनको मीठो बात गुनिरहें मनमनै ।
चाहेका ति आशा इच्छापुरा गर्दाखेरि मैले,
घात भन्ने शब्द आफैँ बुनिरहें मनमनै ।

बिष्णुनन्द चाम्लिङ्ग
संझौतामा जिन्दगी यो मिलाउँनु पर्छ साथै ।
तितामीठा कुरा सबै मिसाउँनु पर्छ साथै ।
जीवन हाम्रो घामछायाँ,जिउँनुपर्छ हाँसीखेली,
घात हैन हात मिलाई बिताउँनु पर्छ साथै ।

जुहारी मिति : २ पौष २०६७\ १७ डिसेम्बर २०१० \ दिनको हङ्गकङ्ग समय:-३:०० देखि ४:०० सम्म
स्थान:- फेसबूक सञ्जाल
आयोजक: मुक्तकिला मनहरु

No comments:

Post a Comment

अतिथिहरु