Tuesday, December 7, 2010

जुहारी मुक्तक- ४ सीता सुबेदी "प्रकृति"र बिष्णुनन्द चाम्लिङ्ग

सीता सुबेदी "प्रकृति"
निमोठेर मुटु मेरो कठै बरा भन्यौ फेरी ..../
चिमोटेर चाहना यो कठै बरा भन्यौ फेरी .../
दोष मेरो केहि नभै खेल्यौ मेरो चाह संग .../
निचोरेर सारा खुशी कठै बरा भन्यौ फेरी .../

बिष्णुनन्द चाम्लिङ्ग
स्पर्शले सुमसुम्याएँ निमोठेको दोष लायौ ।
प्यारले चलाए थेँ चिमोटेको दोष लायौ ।
अनकनाई दोष लायौ नचाहेरै भए पनि ।
अंगालोमा बाँधिराखेँ निचोरेको दोष लायौ ।

सीता सुबेदी "प्रकृति"
इच्छा थियो बाँच्ने कति, आज एक्लै परे राजा /
दैबको यो लिला हेर्दै, तिम्रै वर सरे राजा ..../
आज निठुर बनाई मन छाडी गयौ मलाई तिमि /
विपदमा छोड्यौ मलाई कस्तो गल्ति गरे राजा?

बिष्णुनन्द चाम्लिङ्ग
इच्छा थियो अझै नि छ बाँच्नु पर्छ रानी ।
दैब हैन प्रेमको लिला हेर्दै नाच्नु पर्छ रानी ।
निष्ठूरी त समय हो दोष मलाई नलाउँ प्रिया,
बिपदमा मिलनको आशा साँच्नु पर्छ रानी ।

सीता सुबेदी "प्रकृति"
तिम्रो आशा मार्न गाह्रो, तेसैले त बाँचे प्रिय..//
धिप्प-धिप्प जाने स्वाश, तेसैले त साँचे प्रिय /
अजम्बरी दुनियामा पाउन पाए देखि जीवन .
झुट्टो संसार नियालेर, तेसैले त हाँसे प्रिय .../

बिष्णुनन्द चाम्लिङ्ग
आशै आशले बाँच्नु पर्ने मान्छेको जात प्रिया ।
संझाउँनु पर्ने मनलाई बजाउँदै पात प्रिया ।
अजम्बरी ज्यान हैन माया अजम्बरी हुन्छ,
झुट्टो संसार तर सत्य जीवन बाँचौँ साथ प्रिया ।

सीता सुबेदी "प्रकृति"
मनको महल बालुवाको घर जस्तै बने पछि ../
तिम्रो मानो यत्ति नै हो, दैबले नै भने पछि ..../
हाम्रो के नै लाग्दो रैछ हेरी बस्ने समयलाई ..
जीवनलीला अन्त होला बैरी खाल्टो खने पछि../

बिष्णुनन्द चाम्लिङ्ग
झुपडी नि महल बन्छ मनले मानीहेर्यो भने ।
दैब पनि डराउँछन् रे सत्यकुरा केर्यो भने ।
हेरीबस्ने मात्र हैन पछ्याउँने हो समयलाई,
बैरीकै जीत होला यदि आखाँ पट्टी बेर्यो भने ।

सीता सुबेदी "प्रकृति"
तिमि साथ दियौ भने, बाँचुला म यसै गरि ..
प्रियतमको प्यार प्याला, खुशी हुँदै पेसै गरि ...
अजम्बरी पाउने कुरा, भगवान त पछि परे ..
खुशी साटौ जीवनमा यहि देखि मेसै गरि ...//

बिष्णुनन्द चाम्लिङ्ग
साथ मात्र हैन प्रिया हात पनि तिमीलाई नै ।
बात मात्र हैन बैशको मात पनि तिमीलाई नै ।
जन्मे पछि मर्नै पर्छ को पो छ र अजम्बरी ?
जीवन फुल्ने फूलको पात पनि तिमीलाई नै ।

जुहारी मिति : २१ मंसीर २०६७\ ७ डिसेम्बर २०१० \दिनको हङ्गकङ्ग समय:-३:०० देखि ४:०० सम्म
स्थान:- फेसबूक सञ्जाल

No comments:

Post a Comment

अतिथिहरु