Thursday, December 9, 2010

जुहारी मुक्तक- 6

Sita Subedi "prakriti"
आँशु सुके नयन दुखे, तिम्लाई हेर्ने बानि छुट्छ
जति टाढा जान खोज्छौ, मायाको यो खानी फुट्छ
तिम्ले माया मलाई गर, भन्नु मेरो आफ्नै भुल ...
इन्कार गरे पनि प्रिय,तिम्रो लागि जवानी जुट्छ

Bishnu Baikunthe
जवानी त त्यसै गयो मलाई पर्खे नपर्खे पनि
आफ्नो मान्छे आफ्नै हुन्छ सुनपानी नछर्के पनि
सम्हालेर राख त्यो मन मैले माया गरेकै छु
तिमीमाथि इन्कार हुन्न तिमी तर्के नतर्के पनि

Sita Subedi"prakriti"
जवानी त आफ्नो यसै नेटो काटी गए पनि.
माया त्यसै लाग्दो रैछ तिमि घाती भए पनि.
मुखले भन्छौ माया गर्छु ठिक्क पार्न जानेकै छौ,
आखिर मलाई एक्लै छोड्यौ ठुलै छाती भए पनि.

Bishnu Baikunthe
घात गर्या छैन तिम्लाई अँटाइरा'छु छातीभित्र
टाढा भए'नि सजाइरा'छु मनमन्दिरको पातीभित्र
बाध्यतामा मुग्लान धाएँ आउँछु फर्की अर्को साल
असल मेरो माया पाउँछौ आफ्नै घरको टाटीभित्र ।

Sita Subedi"prakriti"
माया गर्छु भन्छौ मात्र, जाली कुरा कति जान्या ?
मनमन्दिर तिम्रै भन्ने, झ्याली कुरा कति जान्या ?
मुग्लान किन पस्यौ कुन्नि? यतै दुख गरौ भन्थे,
झुक्याउनलाई टाढै बसी, खाली कुरा कति जान्या ?

Bishnu Baikunthe
मुग्लान पस्या गरीबीले कमाउने बाटो नभएपछि
अनि छोडें घर-परिवार, रमाउने बाटो नभएपछि
झुक्याएको हैन प्रिया हृदयबाटै बोलेको छु
तिम्लाई पक्कै दुःख लाग्छ, समाउने बाटो नभएपछि

Sita Subedi"prakriti"
सबै कुरा भन्छौ यस्तै छक्क पार्न सिपालु छौ.
समस्या यस्तै भन्दै, मक्ख पार्न सिपालु छौ..
तिम्रो झुटो कुरा मात्र कति सुन्नु मैले अब ?
आफ्नै कुरा सहि भनि निर्धक्क पार्न सिपालु छौ

Bishnu Baikunthe
श‍ंकै शंका हुने खालका कुरा धेरै गर्छौ
यथार्थलाई नबुझेमा तिमी पछि पर्छौ
धरोधर्म ढाँट्या छैन मलाई विश्वास गर
सत्य कुरा नपत्याउँदा म नभेटी मर्छौ

Sita Subedi"prakriti"
शंका भन्ने सोच्यौ भने, ठुलै घात हुन्छ यहाँ
समस्या छ घरमा अझै, सम्झे खात हुन्छ यहाँ
पीरमर्का घरको सबै, मिलि पाखा लाउनु पर्छ.
बिस्वाशघाती भन्यौ भने मन आहत हुन्छ यहाँ

Bishnu Baikunthe
सही कुरा ठाउँमा आउँदा सधैं खुशी हुन्छौं
हामी उही गाऊँमा पाउँदा झनै खुशी हुन्छौं
समस्याको निराकरण दुवै मिली गर्नुपर्छ
घात पखाल्ने गीत गाउँदा अझै खुशी हुन्छौं

date 09 dec 2010

No comments:

Post a Comment

अतिथिहरु