सीता सुबेदी'प्रकृति'
खुशी खोज्न वसन्तमा, आएको 'नि धेरै भयो।
जवानीले रङ्ग फेर्न, चाहेको 'नि धेरै भयो।
तिमी भने मेरो माया, बुझ्ने चाह मारिरह्यौ,
मनमनै संगाली प्रीत, लाएको 'नि धेरै भयो।
बिष्णुनन्द चाम्लिङ्ग
वसन्तको पालुवा झैँ तिम्रो रहर रङ्गिएला।
गुलाबी त्यो गाला जस्तै सारा प्रहर रङ्गिएला।
तिम्रासारा सपनाको साकार हुँने बाटो रोज,
संगालेको पिरतीले अब पत्झर रङ्गिएला ।
सीता सुबेदी'प्रकृति'
कति मेरा बसन्तका, रहरहरु खेर गए।
लालिमाले छुने मन, शहरहरु खेर गए।
सम्झनामा कतिपल काट्नु बरै एक्लै मैले,
तुनिएको हृदयको, बहरहरु खेर गए ।
बिष्णुनन्द चाम्लिङ्ग
संझना र कल्पनाले रहरहरु पलाउँछ ।
भावनामा ज्यादै डुबे जिउज्यानै गलाउँछ ।
जीवन अनि जगतलाई बुझ्ने कोसिस गर बरी,
धैर्यगरि प्रीति रोपे फुली फल फलाउला ।
सीता सुबेदी'प्रकृति'
रङ्गिएको मनलाई, सम्हाल्न परै बस्यौ।
भावाना यो पचाएर,अनायासै छुरी धस्यौ।
जिन्दगीको मूल्य यहाँ,बुझ्दाखेरि जैले पनि,
म राख्छु धैर्यले तिमी,नयनबाट तप्प खस्यौ।
बिष्णुनन्द चाम्लिङ्ग
रङ्गिएको हैन मन मैलिएछ धुईहेर ।
हृदयले हृदयलाई एकफेर छुईहेर।
जिन्दगीको मूल्य सधैँ बुझ्नलाई हेर बरी,
मनको मैलो बग्ने गरि एकफेर रोईहरे ।
सीता सुबेदी'प्रकृति'
तिम्रो मन कति मैले, भित्रै छामी हेरीसकें।
मनलाई सम्झाउन, चित्रै छामी हेरीसकें ।
जिन्दगीको मूल्य मैले बुझाउन परेँ बरु,
साथ तिम्रो अनायासै,बिचित्रै छामी हेरी सकें ।
बिष्णुनन्द चाम्लिङ्ग
छामे भन्छ्यौ दायाँबायाँ छाम्यौ कुन पाटोमा भन ?
छामे भन्छ्यौ चित्रै चित्र छाम्यौ कुन खाटोमा भन ?
जिन्दगीको मूल्य पनि चुकाउँछु भन्छ्यौ बरी,
छामे भन्छ्यौ साथ मेरो छाम्यौ कुन बाटोमा भन ?
जुहारी स्थान : फेसबूक सञ्जाल चौतारी
आयोजक:- मुक्तिला मनहरु ।
मिति समय:- २६ डिसेम्बर २०१०/ ११ पौष २०६७/ दिउँसो २:३० देखि ४:००बजेसम्म
सुन्दर !
ReplyDelete